img

ऐतिहासिक पृष्ठभूभिः

गण्डकी प्रदेश स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं. ६ उजेलीडाँडा स्थित श्री भाग्योदय मा.वि. साविक खिलुङदेउराली, ढापुक सिमलभञ्ज्याङ् र स्वरेक गा.वि.स. अन्तर्गतका स्थानीय शिक्षाप्रेमी, राजनीति कर्मि,समाजसेवी,शिक्षक आदिहरुको अथक प्रयासबाट वि.सं. २०३३ साल माघ १२ गते स्थापित यस विद्यालय साविक खिलुङदेउराली, ढापुक सिमलभञ्ज्याङ् र स्वरेक गा.वि.स.हरुको केन्द्र पर्न उजेलीडाँडामा अवस्थित छ । हुनत यस स्थानमा वि.सं. २०१५ सालमा नै स्याउले कटेरोको रुपमा विद्यालय निर्माण गरी शिक्षा प्रदान गर्दै आएकोमा ४ वर्ष पछि वि.सं. २०१९ सालमा आर्थिक कठिनाइका कारण साविक पशुपति प्रा.वि. फूलबारीमा स्थानान्तरण गरिएको थियो । पछि सबैको प्रयासमा वि.स २०३३ सालमा नि.मा.वि. तह कक्षा ४ सञ्चालन गर्ने अनुमति तत्कालिन जिशिकाबाट लिई अध्ययन कार्य शुरु गरिएको थियो । स्थापना कालमा वि.व्य.स.अध्यक्ष स्व.डण्डापानी खनाल हुनुहुन्थ्यो भने संस्थापक प्रअ तोयनाथ अर्याल हुनुहुन्थ्यो । वि.सं. २०४०मा.वि तहको सम्बन्धन प्राप्त गरी २०५२ सालमा मा.वि.तहको स्थायी स्वीकृत प्राप्त गरेको र वि.सं.२०६२ सालदेखि उच्च मा.वि. कक्षा ११ र १२ सञ्चालन गर्ने सम्बन्धन प्राप्त गरी हाल बालविकासदेखि कक्षा १२ सम्मको अध्यापन कार्य सञ्चालन गर्दै आएको छ । त्यसैगरी शैक्षिक सत्र २०७५ । २०७६ देखि सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी प्राविधिक धार तर्फ १८ महिने जे.टि.ए. (बाली विज्ञान) को पठनपाठन कार्यक्रम पनि सञ्चालन भैरहेको छ । आर्थिक वर्ष २०७६।०७७ देखि नेपाल सरकारबाट नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत छनौट भई विद्यालयले नमुना विद्यालय निर्देशिका अनुरुपको कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

भौगोलिक अवस्थाः

गण्डकी प्रदेश स्याङजा जिल्लाको मध्यभागमा अवस्थित सिद्धार्थ राजमार्गदेखि करिब उत्तर तर्फ भीरकोट नगरपालिका अन्तर्गतका वडा नं. ५,६ र ८ को संगम स्थलमा पर्ने उजेलीडाँडामा अवस्थित यस विद्यालय पहाडी क्षेत्रमा पर्दछ । यसको पूर्वमा प्रशिद्ध आँधिखोला, पश्चिममा मोहनडाँडा, उत्तरमा खिलुङडाँडा र दक्षिणमा महापुर डाँडा ( प्याराग्लाइडिङ स्थल), पकान फाँट जस्ता डाँडाकाँडा र पहाडले घेरिएको यस स्थल जो कोहिका लागि आकर्षण स्थल बनेको छ । लुब्दिखोला र गोदीखोलाको बीच भागमा पर्ने केहि उच्च र रमणीय स्थल उलेलीडाँडामा अवस्थित यो विद्यालयबाट दुबैतर्फ सम्म खेती योग्य फाँटहरु रहेका छन् । यस क्षेत्रमा ४,५ वटा सामुदायिक वनहरु जस्तै सालघारी वन,थालेखर्क वन,सुम्रेसातपत्रे वन छन् भने सुन्दरचौरमा स्थापना गरिएको बोटानिकल गार्डेन तथा भिरालो ठाउँमा रोपिएका सल्लाघारीले जो सुकै दर्शकको मन नलोभ्यउला भन्न सकिन्न । यी ठाउँलाई राजमार्गले नछोए पनि कच्चि र ग्रामीण सडकद्वारा बयरघारी,ढापुक,पर्वत हिले,बयरघारी, मोहनडाँडा, हुवास,वालिङ, महापुर , सुन्दरबजार ,तिसेदी आदि ठाउँहरु जोडिदा यसले पहाडी जनजीवनलाई सहज सरल तुल्याएको छ ।
यस क्षेत्रमा कालिका मन्दिर खिलुङ, शिवालय मन्दिर सुन्दरबजार, चौरी, मोहनडाँडा पशुपति मन्दिर ,स्वरेक कालिका,भवानीथुम मैदान,लगायतका प्रशस्त मठ मन्दिरहरु छन् । विविध जातजाति रहेको यस ठाउँमा आआफ्नो धर्म संस्कृति, चालचलन,संस्कार भेटिन्छ । यस क्षेत्रमा समग्रमा भन्दा जातीय विवधता, सांस्कृतिक विविधता,भौगोलिक विविधताको परिचायक मान्न सकिन्छ ।यस क्षेत्रमा जातीय विविधतामा एकता, भाइचारा,बन्धुत्व, मित्रता राजनीतिक एकता जस्ता मानवीय आचरणहरु छन् ।